चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित गरिएको छ । आइतबार केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित गरेको हो ।
रास्वपा महाधिवेशनमा सहभागी हुने चार हजार प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । निर्वाचन आयोग प्रमुख भुवन केसीले महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको जानकारी दिँदै नामावलीमाथि कुनै दाबी विरोध भए महाधिवेशन सचिवालयको कार्यालय (चितवन औद्योगिक प्रदर्शनीस्थल)मा सम्पर्क राख्न भनेका छन् ।
रास्वपाले प्रदेश सभापतिहरु पदेन रहने गरी १५१ सदस्यीय केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ । हाल रास्वपामा १२१ केन्द्रीय सदस्य छन् । अब रास्वपामा खुला प्रतिस्पर्धाबाट ९९ जना र सभापतिबाट मनोनीत ५१ जना केन्द्रीय सदस्य हुनेछन् । प्रत्येक प्रदेशबाट एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था विधानले गरेको छ ।

