काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का महामन्त्री डा. धवलशम्शेर राणाले पार्टी परित्याग गरेर नयाँ राष्ट्रवादी शक्तिको निर्माणमा जुट्ने घोषणा गरेका छन् । आफ्नो अभियानमा सहभागी हुन समस्त राष्ट्रवादी र नवयुवालाई उनको आह्वान छ ।
आज एक विज्ञप्ति जारी गर्दै राणाले यस्तो आह्वान गरेका हुन् । शुभेच्छुक, सहयोद्धा तथा सहयात्रीहरुको राय सल्लाह बमोजिम देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको उनले बताएका छन् । समयको पदचाप र जनभावना अनुरुप अघि बढ्न देश विदेशमा रहनुहुने नेपालीहरुको सुझाव र शुभेच्छाहरु प्राप्त भएको छ,’ उनले भनेका छन् । राप्रपालाई विगत चार वर्ष जनभावना अनुकुल अघि बढाउने प्रयास गरेको तर नसकेको राणाको भनाइ छ ।
बिहीबार अपिल जारी गर्दै राणाले राप्रपाको वर्तमान बाटो र कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै नयाँ राजनीतिक यात्रा सुरु गर्ने उल्लेख गरेका छन् । विज्ञप्तिमा डा. राणाले विगत चार वर्षदेखि राप्रपालाई जनभावना अनुकूल अघि बढाउने प्रयास गरे तापनि पार्टी सफल हुन नसकेको उल्लेख गरेका छन् । उनले भने, ‘विरोधाभास र सैद्धान्तिक द्विविधाका बिच गलत बाटोमा हिँड्ने र हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भयो।’
