जनकपुर । जनता समाजवादी पार्टी ( जसपा ) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) नेपालबीच एकीकरण भएपछि पहिलोपटक मधेस प्रदेशसभाका सदस्यहरु संयुक्त बैठक बसेका छन् । बुधबार मधेस प्रदेश सभामुखको सभा कक्षमा दुबै दलको संयुक्त बैठक सुरु भएको हो । संसदीय दलको नेता चयनका लागि छलफल गर्न लागेका हुन् । स्रोतका अनुसार लोसपाको तर्फबाट जितेन्द्र सोनारले दलका नेतामा दाबी गरिरहेका छन् । तर जसपाका सांसदहरुले संसदीय दलका नेता सरोज कुमार यादवलाई निरन्तरता दिने पक्षमा छन् ।
निर्वाचन आयोगले दुबै पार्टी एकीकरण भएको पत्र मधेस प्रदेशसभामा पठाएपछि पहिलोपटक संयुक्त बैठक बसेको पूर्वमुख्यमन्त्री तथा जसपा संसदीय दलका नेता यादवले जानकारी दिए । लोसपा पार्टी जसपामा समाहित भएको छ । जसपा संसदीय दलको नेता मै हूँ , दलका नेता यादवले भने मैले नै दुबै पार्टी पार्टीको संयुक्त बैठकका लागि पहल गरेको छु । दलको नेतामा सर्वसम्मत गर्ने खोजेको हुँ । तर पूर्व लोसपाका साथीहरू सहमत हुन्न सकेनन् भने निर्वाचन प्रक्रियाबाट दलको नेता छनौट हुनेछ । लोसपा र जसपा एकीकरण भएपछि २६ सांसदसहित मधेस प्रदेशको ठूलो दल बनेको छ । जसपाका १८ र लोसपा ८ रहेको छ ।
प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकारबाट जनमत पार्टीले समर्थन फिर्ता लिएपछि जसपाको नेतृत्वमा नयाँ सरकार बन्ने चर्चा सुरु भएको छ । ठुलो दलको हैसियतले जसपा नेतृत्वमा दाबी गर्ने आकलन गरिएको छ । तर पूर्वमुख्यमन्त्री लालबाबु राउतले नेतृत्व परिवर्तन गर्ने पक्षमा नरहेको बताए । उनले भने, हाम्रो दलको समर्थन कांग्रेस नेतृत्वको सरकारलाई रहनेछ ।
जनमतले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले गत शुक्रबार विश्वासको मतका प्रदेशसभाको बैठकका लागि सिफारिस गरेका थिए । तर विश्वासको मत पाउने अनिश्चितता देखेपछि बैठक सार्न लगाएका थिए । मुख्यमन्त्री यादवले आउँदो शुक्रबार विश्वासका मत लिन लागेका हुन् ।
