काठमाडौँ । घुस लिएको आरोपमा पक्राउ परेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले रु ५० लाख नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी लिएर थुनामुक्त गर्न आदेश दिएको छ ।न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मङ्गलबार गरेको आदेशको लिखित प्रतिलिपि आज सार्वजनिक भएको हो । आदेशमा मुद्दाको अन्तिम फैसला हुँदासम्मका लागि गुप्तालाई धरौटीमा रिहा गरी तारेखमा राख्न भनिएको छ ।
सर्वोच्चले विशेष अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा राख्ने गरेको आदेश बदर गर्दै गुप्तालाई धरौटीमा रिहा गर्ने निर्णय गरेको हो। आदेशमा विशेष अदालतको २०८२ पुस १६ गतेको थुनामा राख्ने आदेश मिलेको नदेखिएको उल्लेख गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका बेला रामचन्द्र अधिकारीलाई मालपोत कार्यालय कास्कीमा सरुवा थमौती गराइदिने तथा खमबहादुर पुनलाई भूमिसम्बन्धी समस्या समाधान आयोग कास्कीको अध्यक्षमा नियुक्त गराइदिने भन्दै घुस लिएको आरोपमा मुद्दा दायर गरेको थियो । यसैबीच, अदालतले प्रतिवादी रामचन्द्र अधिकारी, तुल्सीराम बुढा मगर र रन्जिता श्रेष्ठलाई धरौटीमा रिहा गर्ने विशेष अदालतको आदेशलाई समेत सदर गरेको छ ।
