काठमाण्डौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन झन्डै ५ अर्ब रुपैयाँमा सम्पन्न भएको जनाएको छ। मंगलबार आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै निर्वाचनको खर्च विवरण सार्वजनिक गरेका हुन्।
उनका अनुसार फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको हो। कूल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६८९ लाई आधार मान्दा प्रतिनिधि सभा सदस्य निर्वाचन– २०८२ मा प्रति मतदाता सरदर २ सय ६३ रुपैयाँ खर्च भएको आयोगले जनाएको छ। आयोगलाई सरकारले निर्वाचनका लागि ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ उपलब्ध गराएको थियो। 
