काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीनवटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने निर्णय गरेसँग रकम फिर्ता दिन थालिएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि सहकारीहरूको ऋण असुल्ने कामसमेत तीव्ररूपमा भइरहेको जानकारी दिएकी छन् । यसैबीच, समितिले कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारी ७ जना साना बचतकर्ताले बचत रकम फिर्ता पाएका छन् ।
समितिका अनुसार आज पहिलो दिन थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिए पनि अब क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिने जनाइएको छ । समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् ।
