काठमाण्डौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरेर दैलेखका एक वडा सचिवलाई धम्की दिएको आरोपमा प्रकाश खड्का पक्राउ परेका छन् । दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत दबाब, धम्की र अमर्यादित व्यवहार गरेको आरोपमा २२ वर्षीय खड्कालाई शनिबार दिउँसो काठमाडौंबाट नियन्त्रणमा लिइएको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ बस्ने खड्कालाई दिउँसो करिब साढे २ बजे पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार खड्काले प्रधानमन्त्री कार्यालयबाट बोलेको भन्दै वडा सचिवलाई धम्क्याएका थिए । उक्त फोन संवादको अडियो सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो । अडियोमा राष्ट्रसेवक कर्मचारीलाई भय र त्रास सिर्जना गर्ने तथा अपमानजनक शब्द प्रयोग गरिएको आरोप छ ।
घटनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आफ्नो नाम दुरुपयोग गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको थियो । कार्यालयले दोषीमाथि कडा कारबाही गर्न निर्देशनसमेत दिएको बताइएको छ । खड्का राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता रहेको खुलेको छ । उनले सुर्खेतबाट पार्टी सदस्यता लिएको जनाइएको छ । घटनापछि रास्वपा दैलेखले समेत उनीमाथि कारबाही गर्न सिफारिस गरेको बताइएको छ ।
