काठमाण्डौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले ९ विकेटको सानदार जित दर्ता गरेको छ। ओपनर कुशल भुर्तेलको विष्फोटक शतकीय इनिङ्सको मद्दतले नेपालले अमेरिकाले दिएको १९६ रनको लक्ष्य मात्र ३६.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा भुर्तेलले ११८ बलको सामना गर्दै १३ चौका र ४ छक्काको मद्दतले अविजित १२० रनको योगदान दिए।
भुर्तेललाई अर्का ओपनर आसिफ शेखले ५८ रन बनाएर उत्कृष्ट साथ दिएका थिए। उनीहरूबीच पहिलो विकेटका लागि १४५ रनको बलियो साझेदारी भएको थियो। ७२ बल खेलेका आसिफले ८ चौका प्रहार गरे। आसिफ शेख आउट भएपछि क्रिजमा आएका इशान पाण्डेले ३० बलमा १ चौकासहित अविजित २० रन जोडे। नेपालले ८० बल बाँकी छँदै लक्ष्य भेट्टाएपछि घरेलु मैदानमा समर्थकहरूको उत्साह चुलिएको थियो।
अमेरिकाका लागि एकमात्र विकेट मोहम्मद मोहसिनले लिए। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिका ४३।३ ओभरमा १९५ रनमा समेटिएको थियो। अमेरिकालाई सस्तैमा रोक्न नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले घातक बलिङ गरे। उनले ७।३ ओभरमा मात्र २४ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए। सोमपाल कामीले ७ ओभरमा ३५ रन दिएर २ विकेट झारे।
त्यसैगरी, सन्दीप लामिछाने र गुलशन झाले समान १–१ विकेट हात पारे। कप्तान रोहित पौडेलले १ ओभर बलिङ गरे पनि विकेट लिन सकेनन्। ललित राजवंशी र नन्दन यादव भने विकेटविहीन रहे। अमेरिकाका लागि ओपनर स्मीट पटेलले ८९ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ८३ रनको योगदान दिएका थिए। अर्का ब्याटर सेहान जयसूर्याले ५२ बलमा ५० रनको अर्धशतकीय इनिङ्स खेले। यद्यपि, मध्यक्रमका ब्याटरहरू नेपाली बलरसामु निरीह देखिएपछि अमेरिकाले ठुलो स्कोर बनाउन सकेन। मिलिन्द कुमारले २८ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
