काठमाण्डौं । नेकपा ९एमाले० ले सचिवालय बैठक आह्वान गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बैठक शनिबार बस्ने भएको हो। फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि एमालेको सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो। निर्वाचनमा अपेक्षाअनुसार परिणाम नआएपछि पार्टीभित्र नेतृत्वमाथि दबाब बढ्दै गएको चर्चा चलिरहेका बेला अध्यक्ष ओलीले लामो समयसम्म औपचारिक बैठक आह्वान नगरेको बताइन्छ। चुनावी पराजयको औपचारिक समीक्षा हुन नसकेको भन्दै पार्टीभित्र असन्तुष्टि पनि देखिँदै आएको छ।
यसैबीच, गत वैशाख २५ गते उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले गुण्डुस्थित निवासमै पुगेर अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए। त्यसपछि सचिवालय बैठक आह्वान भएको हो। पार्टीका औपचारिक कार्यक्रम र आन्तरिक बैठकहरू लामो समयदेखि नियमित रूपमा हुन नसकेको भन्दै नेताहरूले चासो व्यक्त गर्दै आएका छन्।
पार्टीभित्रको पछिल्लो अवस्थालाई लिएर संगठनात्मक पुनरावलोकन र चुनावी समीक्षा बैठकको मुख्य एजेन्डा हुने अपेक्षा गरिएको छ। नेताहरूका अनुसार यस बैठकले पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण र नेतृत्वको भूमिकाबारे पनि दिशा निर्धारण गर्न सक्छ।
