काठमाण्डौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको १०३ औं खेलमा नेपाल स्कटल्याण्डसँग २ रनको झिनो अन्तरले पराजित भएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा लक्ष्य पछ्याउने क्रममा नेपाल अन्तिम समयमा चुकेको हो। निर्धारित ५० ओभरमा स्कटल्याण्डले ८ विकेट गुमाएर २४३ रन जोडेको थियो। तर, खेलको बीचमा वर्षा भएपछि डकवर्थ लुइस ९डीएलएस० पद्धतिका आधारमा नेपालले ३९ ओभरमा २२१ रनको नयाँ लक्ष्य पाएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३९ ओभरमा ७ विकेट गुमाउँदै २१८ रन मात्र बनाउन सक्यो। नेपालका लागि गुल्सन झा र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन। गुल्सनले मात्र ३५ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै ६१ रनमा अविजित रहे। यस्तै, दीपेन्द्रले ४९ बलमा ५५ रनको योगदान दिए।
कप्तान रोहित पौडेल ३२, ओपनर आसिफ शेख २१ र करण केसी १८ रनमा आउट भए। अन्य ब्याटर अर्जुन कुमाल शून्य र विनोद भण्डारी १० रनमा पभेलियन फर्किएपछि नेपाल सुरुवातमै दबाबमा परेको थियो। स्कटल्याण्डका लागि बलिङतर्फ ब्राड क्युरीले ३ विकेट लिए भने मार्क वाटले २ विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले जर्ज मुन्सेको विष्फोटक ब्याटिङको मद्दतमा चुनौतीपूर्ण योगफल तयार पारेको थियो। मुन्सेले ६२ बलमा १२ चौका र २ छक्कासहित ७५ रन बनाए।
यस्तै फिन्ले म्याक्रेथले ३५, माइकल इङ्लिसले अविजित ३४, माइकल लिस्कले २९ र मार्क वाटले २४ रन जोडे। कप्तान रिची बेरिङटन भने ५ रनमै आउट भएका थिए। नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले घातक बलिङ गर्दै १० ओभरमा १ मेडन राखे ४१ रन खर्चिँदै ४ विकेट लिए। त्यस्तै, नन्दन यादव र करण केसीले समान २(२ विकेट हात पारे। ललित राजबंशीले १० ओभरमा कसिलो बलिङ गर्दै मात्र ३३ रन खर्चिए पनि विकेट भने लिन सकेनन्।
