काठमाण्डौं । मधेस प्रदेशका श्रममन्त्री रामजी यादवका सवारी चालक मुस्तकिम मिया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका छन्। पीडित राजकुमार चौधरीले दिएको जाहेरीका आधारमा महादेवा गाउँपालिका–१ घर भई राजविराज नगरपालिका–३ बस्दै आएका २७ वर्षीय मुस्तकिमलाई राजविराजबाट सोमबार पक्राउ गरिएको हो।
प्रहरीले उनीमाथि अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिएका छन्। उनका अनुसार मियामाथि गत फागुन १४ गते चौधरीलाई बा ९९ प ५७७५ र अन्य नम्बर नखुलेको २ वटा दुई मोटरसाइकलमा अपहरण गरी बन्दुक देखाउँदै लुटपाट गरेको आरोप छ। प्रहरी अनुसन्धानका क्रममा मियाले पीडितलाई अपहरण गरी नग्न बनाएर कुटपिट गरेको खुलासा भएको छ।
जाहेरीमा उनीहरूले राजविराज–८ स्थित हिमालय राइस मिलको पछाडि पर्वत भन्ने स्थानमा लगेर शरीर बन्धक बनाई कुटपिट गर्दै नांगै बनाएर भुइँमा थुक्न लगाई चाट्न लगाएको आरोप लगाइएको छ। पक्राउ परेका मियालाई अदालतबाट सात दिनको म्याद लिई थुनामा राखेर थप अनुसन्धान अघि बढाइएको छ। मिया श्रममन्त्रीका सवारी चालकका रूपमा नियुक्त भए पनि आफूलाई ‘प्रमुख राजनीतिक सल्लाहाकार’ भन्दै परिचय दिँदै आएका थिए।
