काठमाण्डौं । सरकारले नेपाल–भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल तीव्र बनाएको जनाएको छ । मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई कूटनीतिक नोट पठाइसकिएको जानकारी दिए । उनका अनुसार दुई देशबीच सीमा विषयमा संवाद प्रक्रिया सुरु भइसकेको छ । “डिप्लोमेटिक नोटअनुसार नेपाल र भारतबीच संवाद भइरहेको छ, वार्ता अगाडि बढ्छ,” उनले भने ।
सरकारले मन्त्रालयको संख्या घटाएर अधिकतम १८ वटामा सीमित गर्ने तयारी पनि अघि बढाएको जनाएको छ । प्रवक्ता पोखरेलले आपसमा बढी सम्बन्धित मन्त्रालयहरूलाई गाभ्ने अध्ययन भइरहेको बताए । “हामीले घोषणापत्रमै अधिकतम १८ मन्त्रालय बनाउने प्रतिबद्धता गरेका छौँ । अन्तरसम्बन्ध बढी भएका मन्त्रालयलाई गाभ्ने प्रक्रिया चाँडै अघि बढ्छ,” उनले स्पष्ट पारे ।
शिक्षा क्षेत्रबारे बोल्दै उनले एकपटक भर्ना शुल्क लिएपछि पुनः अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था शिक्षण नियमावलीमै स्पष्ट रहेको बताए । तोकिएको शुल्कभन्दा बढी रकम असुल गर्ने विद्यालयमाथि स्थानीय तहले अनुगमन तथा कारबाही गर्ने उनले जानकारी दिए । “यस विषयमा धेरै गुनासो आएपछि गत सोमबार छलफल पनि गरेका थियौँ । कानुनविपरीत शुल्क लिने विद्यालयमाथि स्थानीय तहले आवश्यक कारबाही गर्छ,” उनले भने ।
