काठमाडौं । सरकारले इरानको कब्जामा रहेका अमृत झालाई नेपाल ल्याउने प्रक्रियाहरू सुरु नभएको जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत उनी इरानी सेनाको नियन्त्रणमै रहेको र नेपाल ल्याउने प्रक्रिया जारी राखेको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले भने, ‘इरानी नियन्त्रणमा रहेका अमृत झाको रिहाइ प्रक्रियामै छ । इरानको पछिल्लो विषम परिस्थितिका कारण कानुनी प्रक्रिया बाँकी छ ।’ उनले अमृतको रिहाइको लागि सम्बन्धित निकाय र परिवारसँग सम्पर्कमा रहिरहेको बताए । त्यस्तै रिहाइको प्रयास जारी राखेको पनि जानकारी गराए ।
इरानमा तेल लिएर फर्किने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट इरानी रेभुलेसन गार्डले फारसी खाडीको होर्मुज स्ट्रेटमा उनलाई नियन्त्रणमा लिएको थियो ।
