काठमाडौँ । मालीका रक्षामन्त्री साडियो कामाराको विद्रोही समूहले गरेको आत्मघाती ट्रक बम आक्रमणमा परी मृत्यु भएको छ । राजधानी बामाको नजिकै रहेको उनको निवासमा जिहादी विद्रोही र पृथकतावादी समूहहरूले गरेको संयुक्त आक्रमणका क्रममा मृत्यु भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
सरकारी टेलिभिजनले पनि रक्षामन्त्री कामाराको मृत्युको पुष्टि गरिसकेको छ । आक्रमणमा रक्षामन्त्रीका परिवारका तीन सदस्यको समेत मृत्यु भएको छ । यसैगरी विद्रोहीहरूले सैन्य जुन्ताका प्रमुख जनरल आसिमी गोइटाको घरलाई समेत निशाना बनाएपछि उनलाई सुरक्षित स्थानमा सारिएको छ ।
अलकायदासँग आबद्ध जिहादी समूह र तुआरेग पृथकतावादी समूह ९एफएलए० ले देशका विभिन्न स्थानमा एकैसाथ ठूला आक्रमणहरू गरेका छन् ।उत्तरी सहर किडालबाट मालीको सेनालाई सहयोग गरिरहेका रुसी भाडाका सैनिकहरू पछि हट्न सहमत भएको विद्रोहीहरूले दाबी गरेका छन् ।
विद्रोही समूह एफएलएले किडाल सहर अहिले पूर्ण रूपमा आफ्नो नियन्त्रणमा रहेको घोषणा गरेको छ । सरकारले देशभर उच्च सतर्कता अपनाएको छ भने राजधानी बामाको लगायतका क्षेत्रमा रात्रिकालीन कर्फ्यु आदेश जारी गरिएको छ । सन् २०२० मा सैन्य कू मार्फत सत्ता कब्जा गरेको मालीको जुन्ता सरकारले सुरक्षा सुधार गर्ने वाचा गरे तापनि विद्रोही हिंसाले देश आक्रान्त बनेको छ । बीबीसी
