काठमाण्डौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा सम्पन्न ९७औं खेलमा नेपालले संयुक्त अरब इमिरेट्स ( यूएई ) लाई ३७ रनले पराजित गरेको छ। नेपालले प्रस्तुत गरेको २०१ रनको विजयी लक्ष्य पछ्याएको यूएई ४८.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६३ रनमा समेटिएको हो। नेपालको जितमा तीव्र गतिका बलर करण केसीले घातक बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए। उनले ९.२ ओभर बलिङ गर्दै २ मेडन राखेर मात्र १९ रन खर्चिएका थिए।
त्यस्तै, सन्दीप लामिछाने र सोमपाल कामीले समान २र२ विकेट लिँदा दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले १र१ विकेट हात पारे। लक्ष्य पछ्याउने क्रममा यूएईका लागि हरप्रित सिंहले ५२ बलमा सर्वाधिक ३९ रन बनाए। यूएईका कप्तान मोहम्मद वसिमले ३४ र अक्षदीप नाथले ३० रनको योगदान दिए पनि अन्य ब्याटरले सम्हालिएर खेल्न नसक्दा टोली हार व्यहोर्न बाध्य भयो।
ओपनर आर्यंश शर्मा र निलांश केशवानीले समान १८र१८ रन मात्र जोड्न सके। यसअघि पहिला ब्याटिङ गरेको नेपालले ४८।२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २०० रन बनाएको थियो। नेपाललाई सम्मानजनक योगफलसम्म पुर्याउन दीपेन्द्र सिंह ऐरीले ९० बलमा ५ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७५ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले।
ओपनर कुशल भुर्तेलले २४, करण केसीले २२ र बसिर अहमदले २० रन जोडे। नेपालका कप्तान रोहित पौडेल २ रनमै पभेलियन फर्किँदा विकेटकिपर आसिफ शेख ७ र भीम सार्की १० रनमा आउट भएका थिए। यूएईका तर्फबाट बलिङमा जुनैद सिद्धिकी र अजय कुमारले उत्कृष्ट प्रदर्शन गर्दै समान ३र३ विकेट लिएका थिए। त्यस्तै, खुजैमा तनवीरले २ विकेट तथा हैदर अली र मोहम्मद शाहदादले १र१ विकेट लिए पनि टोलीलाई जित दिलाउन भने सकेनन्।
