काठमाण्डौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सर्वोच्च अदालतको फैसलामा आफ्ना समूहका केही असहमति र विरोधाभासपूर्ण बुँदाहरू रहे पनि विधिको शासनलाई सम्मान गर्दै त्यसलाई स्वीकार गर्ने बताएका छन्। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास गोल्फुटारमा शनिबार बसेको समूहको अनौपचारिक बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। नेता विश्वकर्माले पार्टी सधैँ विधिको शासन र शक्ति पृथकीकरणको सिद्धान्तमा अडिग रहेकाले अदालतको आदेशलाई आत्मसात् गर्ने बताए।
‘फैसलाले आधार मानेका कतिपय विषयहरू विरोधाभासपूर्ण र विवादस्पद हुँदाहुँदै पनि हामी न्यायालयको निर्णय मान्छौं,’ उनले भने, ‘यसअघि निर्वाचन आयोगको निर्णयविरुद्ध हामीले न्यायिक निरूपणका लागि दिएको रिटमाथि आएको फैसलालाई हामीले स्वीकार गरेका छौं।’ विशेष महाधिवेशनको वैधानिकताका विषयमा देखिएको करिब पाँच महिना लामो विवादले पार्टीभित्र अन्तरद्वन्द्व बढाएको नेता विश्वकर्माको भनाइ थियो।
उनले निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि आफूहरू कानुनी उपचारका लागि सर्वोच्च पुगेको स्मरण गराए। हिजो वैशाख ४ गते सर्वोच्चले सोही निर्णयलाई सदर गरेपछि अब खड्का निवर्तमान कार्यवाहक सभापति भएको उनले उल्लेख गरे। पार्टीभित्रको कानुनी र वैधानिकताको विषय टुङ्गिए पनि अब राजनीतिक र भावनात्मक एकताको चुनौती बाँकी रहेको नेता विश्वकर्माले बताए।
‘हिजोसम्म सभापति शेरबहादुर देउवाको खुट्टामा बल थियो, अब अदालतले त्यो बल गगन थापाको खुट्टामा हालिदिएको छ,’ उनले थपे, ‘पार्टीलाई कसरी भावनात्मक रूपमा एकताबद्ध बनाएर लैजाने भन्ने जिम्मेवारी अब सभापति गगन थापाको काँधमा आएको छ।’ बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू डा। शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहसहित नेताहरू एनपी साउद र रमेश लेखकको सहभागिता थियो।
