काठमाण्डौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गते ( आज ) देखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ। यो सेवा मुख्य गरी दुईवटा रुटमा सञ्चालन गरिनेछ। पहिलो उत्तर(दक्षिण रुट १६ किलोमिटरको हुनेछ, जसले लगनखेल, पाटन अस्पताल, वीर अस्पताल, कान्ति अस्पताल हुँदै बुढानीलकण्ठसम्मको क्षेत्र समेट्नेछ।
दोस्रो पूर्व(पश्चिम रुट २० किलोमिटरको हुनेछ, जसले थानकोट, कलंकी, त्रिपुरेश्वर, बानेश्वर हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्मको यात्रा सहज बनाउनेछ। यी दुई रुटमा हाल ४ वटा विद्युतीय बसहरू सञ्चालन हुनेछन्। साँझ ८ बजेपछि सार्वजनिक सवारी साधनको अभावमा यात्रुहरूले भोग्नु परेको सास्ती र महँगो भाडा तिर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न यो कदम चालिएको हो।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार बेलुका ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महंगो यात्रा गर्नु पर्ने विद्यमान अवस्थामा सुधार गर्न जरुरी भएकोले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागिएको हो। उनले सार्वजनिक यातायातको विकल्प नहुँदा विशेषगरी किशोरी, महिला र विद्यार्थीहरूले थप सास्ती र दुर्व्यवहार भोग्नु परेको उल्लेख गर्दै यो सेवाले उनीहरूलाई राहत दिने बताइन्।
यो सेवालाई अत्याधुनिक, एकीकृत र भरपर्दो बनाउने महानगरको लक्ष्य रहेको छ। यसका लागि विभिन्न साझेदारहरूसँग सहकार्य गर्न महानगरपालिका तयार रहेको डंगोलले बताइन्। रात्रिकालीन सेवा सुरु भएपछि बसहरू साँझ ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछन्। हरेक २० मिनेटको अन्तरालमा तोकिएको बस स्टपमा आइपुग्ने जनाइएको छ। यात्रुको सुरक्षाका लागि बसमा सीसीटिभी क्यामरा जडान गरिनुका साथै नगर प्रहरीको समेत व्यवस्था गरिएको छ।
