काठमाण्डौं । ९ दिनदेखि काठमाण्डौ केन्द्रित सडक आन्दोलन गरीरहेका नेपाल शिक्षक महासंघ र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबीच आज साँझ ५ बजेदेखि वार्ता हुन लागेको हो।
शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले शिक्षा मन्त्रालयले विद्यालय शिक्षा विधेयकमा रहेका कतिपय विषयमा धारणा बुझ्न बोलाएका कारण जान लागेको बताइन्। ‘विधेयकको विषयमा मात्र छलफल गर्न मन्त्रालयले हिजो पत्र पठाएको थियो’, उनले भनिन्, ‘विगतमा हामीसँग भएका सहमति नछुटोस् र विद्यालय शिक्षा विधेयक कसरी ल्याउने भन्ने विषयमा छलफल गर्छौँ।’
वार्तामा बस्ने अडान लिएका शिक्षकहरुलाई बुधबार शिक्षा सचिव दीपक काफ्लेले विधेयकमा छलफल गर्न बोलाएका थिए। ‘मन्त्रालयले शिक्षा विधेयकमा छलफल गर्न बोलाएको छ । हामीले जाने भनेका छौं,’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् । ३ बजेसम्म आन्दोलनकै कार्यक्रम भएकाले त्यसपछि मात्र छलफलमा जाने उनले बताइन् ।
आजको छलफलमा शिक्षक महासंघले आफ्नो कुरा राख्ने बताइएको छ । महासंघले ऐन जारी गर्न तीन वटा विकल्प दिएको छ । संसद्को विशेष अधिवेशन बोलाउने, बर्खे अधिवेशन छिटो बोलाउने वा अध्यादेशबाट ऐन जारी गर्न महासंघले भनेको छ । चैत २० गतेदेखि आन्दोलनरत शिक्षकलाई शिक्षा मन्त्रालयले २ पटकसम्म वार्तामा बोलाएको थियो। शिक्षकहरुले भने बर्ता र आन्दोलन सँगसँगै अघि बढाईरहेका छन् ।