काठमाडौं । निजी मेडिकल कलेजका आवासीय चिकित्सकले सरकारीसमान निर्वाह भत्ता पाउनुपर्ने मागसहित प्रदर्शन गरेका छन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यान्वयन सङ्घर्ष समितिले विभिन्न मागसहित काठमाडौंमा धर्ना दिएको छ ।
मन्त्रिपरिषद्बाट पारित भएको न्यूनतम तलब नपाएको तथा चिकित्सा शिक्षा आयोगको निर्णय अनुसार प्राइभेट कलेजलाई सेवा सुविधा दिने भनिएता पनि प्राइभेट मेडिकल कलेजहरूले नमानेको भन्दै बुधवार स्वास्थ्यकर्मीहरूले काठमाडौंको माइतीघरमा धर्ना दिएका हुन् ।
आवासीय चिकित्सकलाई निजी मेडिकल कलेजले पनि सरकारीसरह मासिक साढे ४८ हजार निर्वाह भत्ता दिनुपर्ने निर्णय सरकारले माघ पहिलो साता गरेको थियो ।
त्यहीअनुसार चिकित्सा शिक्षा आयोगले २६ माघ निर्वाह भत्ता दिनेसम्बन्धी निर्णय कार्यान्वयन गर्न विश्वविद्यालय र प्रतिष्ठानलाई परिपत्र गरेको थियो । निर्वाह भत्ता सम्बन्धी निर्णय कार्यान्वयन गर्न निजी मेडिकल कलेज तयार नभएपछि आयोगले सरकारी मेडिकल कलेजमा मात्र विद्यार्थी भर्ना प्रक्रिया अघि बढाएको थियो । निर्वाह भत्ता विवादले चिकित्सा शिक्षा स्नातकोत्तर तह ( पीजी ) को नयाँ शैक्षिकसत्र सञ्चालन अनिश्चित बनेको छ ।
धर्नामा सहभागी डा।राजु चौधरीले न्यूनतम तलब ४८ हजार दिइने भनेर मन्त्रिपरिषद्बाट नै पास भइसकेको अवस्थामा पनि प्राइभेट मेडिकल कलेजहरूले नमानेको कारण सडकमा आउनुपरेको बताए । माग पूरा नभएसम्म सडकमा आउने उनले जानकारी दिए ।