काठमाडौँ । काठमाण्डौ केन्द्रित सडक आन्दोलन गरीरहेका शिक्षकहरु सोमबार कालो मास्क लगाएर सडक प्रदर्शनमा उत्रिएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आन्दोलन गरिरहेका उनिहरुले आजैदेखि शैक्षिक हडतालको घोषणा गरेका छन् ।
सरकारले आफ्ना मागमा बेवास्ता गरेपछि चैत २० देखि जारी आन्दोलनलाई सशक्त बनाउन भन्दै सोमबारबाट शैक्षिक हडतालको घोषणा गरिएको शिक्षक महासंघले जनाएको छ । सरकारले लगातार वार्ता, संवाद र छलफलको आह्वान गर्दा पनि महासंघले अस्वीकार गर्दै आएको छ । शिक्षक महासंघमा कांग्रेस, एमाले, माओवादीलगायत विभिन्न राजनीतिक दल आबद्ध शिक्षक संगठन, निजी विद्यालय शिक्षक युनियन, विद्यार्थी–कर्मचारी संघका घटकहरू आबद्ध छन् ।
महासंघले घोषणा गरेको शैक्षिक हडतालले देशभरका ३४ हजार सामुदायिक तथा निजी विद्यालयको शैक्षिक गतिविधि प्रभावित हुने भएको छ । हडतालका कारण ७० लाख बालबालिकाको शैक्षिक गतिविधिको तयारी बिथोलिनुका साथै एसईईमा सहभागी ५ लाख विद्यार्थीको उत्तरपुस्तिका परीक्षणमा समेत ढिलाइ हुने भएको छ । चैत महिना विद्यालयहरूमा कक्षा सञ्चालन नभए पनि विद्यार्थीको नतिजा प्रकाशनसहित नयाँ भर्ना र शैक्षिक सत्र सञ्चालन गर्ने समय हो । शिक्षक महासंघले हिजो मात्रै शैक्षिक हड्तालकोे घोषणा गरेको हो । शैक्षिक हड्ताल घोषणा गरेपछि सबै शिक्षकहरुलाई आन्दोलनमा होम्मीन महासंघले निर्देशन समेत जारी गरेको छ ।