काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले पूर्वराजाका समर्थकले तोडफोड र आगजनी गरी क्षति पुर्याएको क्षेत्रको अनुगमन गर्ने भएका छन् ।अहिले बिहान ९ बजे अनुगमनका लागि उनी तीनकुने क्षेत्र जाने सचिवालयले जानकारी दिएको छ ।
शुक्रबार प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी गरेका थिए । सो क्रममा २ जनाको मृत्यु समेत भएको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार थप कर्फ्यु आदेशको सम्भावना छैन । तर, प्रहरी निगरानी उच्च पारिएको उनले बताए ।
त्यहाँ कुनै किसिमको प्रदर्शन भए ‘फायर’ खोलिने, अर्थात् गोली प्रहार गरिने उनले बताए । ‘प्रदर्शन हुने पूर्वसूचना छैन, तर हामी हाईअलर्टमा छौं।’, उनले भने । प्रदर्शनलाई उत्तेजित बनाउने भूमिकामा रहेका १०५ व्यक्ति अझै प्रहरी नियन्त्रणमा छन् । उनीहरूमाथि थप अनुसन्धान गर्दै कुन मुद्दा चलाउने भन्ने निर्क्यौल गर्न बाकी रहेको उनले बताए ।