काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई पुनः सञ्चालनमा ल्याउन लिजमा जहाज थप्ने तयारी भइरहेको बताएका छन्।
सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले नागरिक उड्डयन क्षेत्रलाई प्रभावकारी बनाउन जहाज थप्नुको विकल्प नरहेको उल्लेख गरे। उनका अनुसार, हाल विभिन्न देशबाट नेपालमा सिधा उडानको प्रस्ताव आएको छ। जसलाई सहज बनाउन १० वटा वाइडबडी र १० वटा न्यारोबडी जहाज आवश्यक पर्नेछ।
‘’नेपाल एयरलाइन्सलाई सुचारु बनाउन गहन छलफल भइरहेको छ। कुनै पनि बेला ठोस नतिजा आउनेछ। जहाज थप्नुको विकल्प छैन,’’ उनले भने, ‘’सबैतिरबाट सिधा उडानको प्रस्ताव आएका छन्, जसले गर्दा ध्वजावाहक जहाजको आवश्यकता झन् बढेको छ। नेपाली यात्रु मात्र होइन, विदेशी यात्रुहरूले पनि सम्बन्धित देशको ध्वजावाहक चढ्दा अनुमति पाउन सहज हुने रहेछ।’’
मन्त्री पाण्डेले नेपाल एयरलाइन्सका लागि लिजमा जहाज ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले सरकार हवाई क्षेत्रको समस्याहरू समाधान गर्न नयाँ नीति ल्याउने तयारीमा रहेको समेत बताए। साथै, स्वदेशी तथा विदेशी एयरलाइन्सबीच देखिएको भाडा असमानतालाई हटाउन आवश्यक अध्ययन भइरहेको उनको भनाइ छ।