काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरूको अधिकार हनन हुनेगरी भाडा लिने कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिए । उपभोक्ताहरूको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्रै लिन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिए । गत शुक्रवारदेखि दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम सुरु भएदेखि वायुसेवा कम्पनीहरूले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरूले गर्दै आएका छन् । सो विषयमा उनले हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्र मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको बताए ।
तीन मन्त्रालयको समन्वयमा विमान सञ्चालकहरूसँग पनि छलफल गरी बढी भाडा नलिन निर्देशन दिएको बताए । हवाई भाडा बढेका विषयमा ५ बुँदे निर्णय गरी ट्राभल एजेन्सीहरुले टिकटहरू होल्ड गर्ने र महँगोमा बेचिएको कुरालाई रोक्न क्यानलाई निर्देशन दिइसकेको बताए । अहिले क्रमिक रूपमा हवाई भाडादर पुरानै मूल्यमा आएको बताए । सस्तो टिकट कतिको र महँगो टिकट कतिको बिक्यो भन्ने फेहरिस्त सार्वजनिक गर्न समेत क्यानलाई निर्देशन दिएको बताए ।
मन्त्री पाण्डेले भैरहवामा उडानको चाप बढाउन र पोखरामा पनि उडान बिस्तार गर्न मन्त्रालयले योजनाबद्ध रूपमा काम अघि बढाइरहेको बताए । उनले भैरहवामा अहिले ५ वटा एयरलाइन्सहरूले उडान गरिरहेको र यसलाई १० वटासम्म कसरी पुर्याउने भन्ने योजनामा मन्त्रालय रहेको बताए ।
भैरहवाबाट बढी श्रमसँग सम्बन्धित र लुम्बिनीमा आउने दर्शनार्थीको आवतजावतको केन्द्र बनाउने र पोखरामा पर्यटकहरुसँग सम्बन्धित उडान गर्ने गरी योजना अघि बढाएको उनले बताए ।