काठमाडौं । चार देश सहभागी वुमेन्स टी– २० क्वाट्यान्गुलर शृंखला शनिबार युगान्डामा सुरु हुँदैछ । शृंखलाको उद्घाटन खेलमा नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्नेछ । खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार खेल अपराह्न ४ः४५ बजे सुरु हुनेछ।पहिलो पटक एसिया महादेश बाहिर खेल्न लागेको नेपाली महिला टोलीका लागि नामिबिया नौलो टोली हो । उसले यसअघि नामिबियासँग कुनै फर्म्याटको खेल खेलेको छैन ।
पछिल्ला पाँच खेलमा लगातार हार भोगेको नेपाली टोलीले युगान्डा भ्रमणमा उपाधिको लक्ष्य लिएको छ । नामिबियाले भने पाँचमध्ये एक खेलमा मात्र हार भोगेकाले उच्च मनोबलसहित नेपालविरद्ध मैदान उत्रनेछ । शृंखलामा नेपाल र नामिबियासहित घरेलु टोली युगान्डा र हङकङ छन् । शृंखलामा सबै चार टोलीले एकअर्काविरुद्ध दुई दुई खेल खेल्नेछन् ।
नेपालले नामिबियासँग शनिबार र फागुन २८ गते, युगान्डासँग फागुन २५ र फागुन २९ गते तथा हङकङसँग फागुन २६ र फागुन ३० गते प्रतिस्पर्धा गर्नेछ । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टोलीमा रुबिना क्षेत्री, विन्दु रावल,रिया शर्मा, सम्झना खड्का, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, कविता जोशी, एलिशा कुमारी यादव, रोमा थापा, रचना चौधरी, साना प्रविन र इश्वरी बिष्ट छन् ।