काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका सरकार प्रबक्ता पृथ्वीसुब्बा गुरुङले अघिल्लो पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको कारणले नेपाल ग्रे लिष्टमा परेको बताएका छन् ।
मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाल गरे लिस्टमा पर्नुमा अघिल्लो सरकार जिम्मेवार रहेको बताए । उनले नेपाल ग्रे लिष्टमा परेको भनेर विरोध गर्ने माओवादीलाई नैतिक अधिकार नरहेको बताए ।
उनले भने, ‘ग्रे लिष्टमा परेको अहिलेको ५÷७ महिनाको कामले भएको होइन । अघिल्लो सरकारको काम हो त्यो । नेपाललाई ग्रे लिष्टबाट ग्रिन लिस्टमा ल्याउन हामीले गर्नुपर्ने मनि लाउण्डरिङ्गको विषयमा जोडिएको हुन्छ । सम्पत्ति निवारण सम्बन्धी काम पनि धेरै नभएको कारणले पनि समस्या भएको हो। अहिलेको प्रतिपक्ष दलले आफ्नो ठाउँबाट भन्ने कुरा त छ। तर, नैतिक अधिकार छैन ।’