काठमाण्डौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सुशासनको लागि भनेर बनाइएपनि यसले घुस दिनेलाई समात्ने र घुस लिनेलाई छोड्ने गरिरहेको बताए । कोइरालाले आफ्नो पार्टी सत्ता पक्षमा भए पनि सरकारमा नरहेको टिप्पणी गरेका छन् । नेपाल प्रेस युनियनका जिल्ला अध्यक्षहरूको भेलालाई मंगलबार सम्बोधन गर्दै कोइरालाले यस्तो टिप्पणी गरेका हुन् ।
‘सत्तापक्षमा छौं तर सरकारमा छैनौँ हामी । हामीले यो सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता छ,ु कोइरालाले भने । सरकारको कामकारबाही जे कुरामा चित्त बुझ्दैन त्यसमा खबरदारी गर्नुपर्ने उनले बताए । उनले अहिलेको सरकार एमालेकरण भइरहेको त छैन भन्ने चिन्ता लागेको पनि सुनाए । संयन्त्रले सरकार चलाउने कम्युनिस्टहरूमा मात्रै लागू हुने उल्लेख गर्दै कोइरालाले अहिले केन्द्रदेखि पालिकासम्म त्यस्तै अवस्था रहेको बताए । उनले सामाजिक सञ्जाल विधेयकमाथि पनि प्रश्न उठाए । नियमनका नाममा अभिव्यक्ति स्वन्त्रतालाई नियन्त्रण गर्न नपाइने उनको भनाइ छ ।
राजनीतिक स्थायीत्वका लागि यो गठबन्धन बनाउन आफूहरूले पहल गरे पनि सरकारले संसदलाई छलेर अध्यादेश ल्याउने जमर्को गरिरहँदा लोकतन्त्र अफ्ठेरोमा परिरहेको बताए । ुअध्यादेश राम्रो छ की छैन, कस्तो छ भन्ने कुरा पछिको कुरा हो । संसद बोलाउनु ६ दिन पहिला अध्यादेश ल्याइन्छ । के कारणले ल्याएको, किन अर्जेन्सी परेको हो भन्ने कुरामा सरकारले जबाफ दिनुपर्छ, उनले भने । कोइरालाले वर्तमान सरकार ठीक ढंगले नचलेको टिप्पणी गरेका छन् । कोइरालाले सरकार र सरकारी संयन्त्रहरुले अधिकारको दुरुपयोग गरिरहेको बताएका हुन् ।