काठमाण्डौं । काठमाडौँको कमलपोखरीस्थित शानदार मःम पसलमा बिहीबार ग्याँस सिलिण्डर विस्फोट भएको छ । प्रहरीका अनुसार विस्फोटमा परेर पसलमा काम गर्नेहरू ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार मःम पसलमा ग्याँस सिलिन्डर पड्किएको हो । घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेको उनले बताए ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरु सबैलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको छ ।
सिलिन्डर विस्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ । त्यहाँ प्रहरीले अनुसन्धान कार्य जारी राखेको जनाएको छ । घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली र मालीगाउँ प्रहरीको टोली खटिएको छ ।