काठमाडौं । गायिका एलिना चौहानले अंश र माना चामल नलिनेगरी पति बिष्णु सापकोटासँग सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गरेकी छन् । काठमाडौं जिल्ला अदालतमा शुक्रवार दर्ता भएको फिरादमा पति सापकोटाले आफ्नो चरित्रमाथि शंका गरेको र पति पत्नीको रुपमा सम्बन्ध सुमधुर हुन नसकेको जिकिर गरेकी छन् ।
लामो समय प्रेम सम्बन्धमा रहेको यी जोडीबीच बिहेपछि कलह सुरु भएको थियो । कलहले घरेलु हिंसाको समेत अवस्था निम्तिएको चर्चा पनि छ। झापाकी एलिना र बागलुङका विष्णुले गत वैशाख ५ गते मात्र विवाह गरेका थिए। विष्णु अस्ट्रेलिया बस्छन्। विवाहपछि एलिना पनि अस्ट्रेलिया गएकी थिईन। तर छोटो बसाइ पछि नै एलिना दसैंअघि नेपाल फर्किइन्। त्यसयता उनी नेपालमै छिन्।
यस्तैमा आफू तीन महिनापछि नेपाल फर्किएको उल्लेख गर्दै एलिनाले निवेदनमा ‘नेपाल फर्किएपछि पनि म कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बिचको वैवाहिक सम्बन्ध अगाडि बढ्न नसक्ने’ उल्लेख गरेकी छन् ।
पतिसँग भावनात्मक रुपमा सम्बन्ध सुमधुर कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पति–पत्नीको सम्बन्धमा रहनु÷बस्नुभन्दा सम्बन्धविच्छेद गरी स्वतन्त्र भइ आ–आफ्नो जीवन बिताउन श्रेयष्कर लागेको एलिनाको जिकिर छ । उनले अंश तथा माना चामल नलिने गरी सम्बन्धविच्छेद चाहेको पनि उल्लेख गरेकी छन् ।