रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदैछन् । बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएपनि पीडित पक्षको दुई वकिलको बहस बाँकी रहेकाले उनलाई आज पनि अदालतमा उपस्थित गराइन लागिएको हो । बुटवल स्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुने भएको छ ।
रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबारदेखि बहस चलिरहेको छ । बिहीबार थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको थियो । पीडित पक्षको दुई वकिलको बहस भने बाँकी रहेको छ । लामिछानेलाई शुक्रबार १०ः३० बजे अदालतमा उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाइएको थियो ।
सरकारी बहसमा जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए । उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपाने बहस गरेका छन् । आज सुरुमा जाहेरवाला तर्फका वकिलहरू वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता आर्सी गौतमले बहस गरेपछि लामिछानेका वकिलहरूले बहस गर्नेछन् ।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तसहितका अधिवक्ताको बहस सकिएपछि सरकारी वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी बहस गर्नेछन् । त्यसपछि भने न्यायाधीशले थुनछेक आदेशमार्फत रवि पुर्पक्षका लागि थुनामा जाने, धरौटीमा रिहा हुने वा साधारण तारिखमा रिहा हुने आदेश सुनाउनेछन् ।
उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन । बुटवल पछि उनले चितवन र पर्सामा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लावाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन ।