भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने भैरहवा पुगेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा लामिछानेलाई प्रतिवादी बनाइएको छ । उक्त मुद्दामा अदालतमा हाजिर हुन उनी भैरहवा आएका हुन् ।
उनी बुद्ध एयरको विमानबाट भैरहवा गएका छन् । अहिले उनले पार्टीका नेता तथा कार्यकर्ताहरुसित भेटवार्ता गरिरहेको बताइएको छ । रवि लामिछाने बुधबार जिल्ला अदालत रूपन्देहीमा उपस्थित हुने भएका छन् । उनीविरुद्ध सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार अदालतमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो ।
यसअघि लामिछाने पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा धरौटीमा छुटेका थिए । जिल्ला अदालत कास्कीबाट लामिछाने ६५ लाख र काठमाडौंबाट ६० लाख धरौटीमा रिहा भएका थिए । इलाका प्रहरी कार्यालय बुटवलको पूरक अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले दर्जनभन्दा बढी तथ्य र प्रमाणसहित रवि लामिछाने, छविलाल जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा पूरक मुद्दा दायर गरेको थियो ।
२२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । लामिछानेविरुद्ध २ करोड रुपैयाँ व्यक्तिगत बिगो तोकिएको छ । सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा गितेन्द्रबाबु राईसहित पूरक अभियोजनका २२ सहित ४२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।उनीविरुद्ध रुपन्देही, चितवन र पर्सामा समेत सहकारी ठगी मुद्दा रहेको छ ।