कास्की । जिल्ला अदालत कास्कीले सहकारी ठगीको आरोपमा फरार रहेका जीबी राईको राहदानी रद्द गर्न अनुमति दिएको छ । शुक्रबार जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले राहदानी रद्द गर्न अनुमति दिएको हो ।
अदालतले राहदानी विभागलाई जीबीको राहदानी रोक्का गर्न लेखि पठाउने आदेश दिएको छ। ५ वटा सहकारी ठगीका मुख्य अभियुक्त जीबी विदेश भागेपछि उनलाई नेपाल फिर्ता ल्याउन सरकारले लामो समयदेखि प्रयास गरे पनि सकेको छैन।
यसअघि नै प्रहरीले राहदानी रोक्का गर्नका लागि अदालतमा अनुमति माग गरेको थियो। तर अदालतले अनुमति दिएको थिएन। अदालतको अनुमति बिनै प्रहरीले राहदानी विभागमा रोक्का राखिदिन पत्राचार गरेको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिल कार्यालयमार्फत् जिबीलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी रद्द गर्न माग गर्दै अदालतमा निवेदन दिएको थियो ।