काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउन पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई निर्देशन दिएका छन् । बुढानीलकण्ठस्थित निवासमा आज भएको पार्टी पदाधिकारीसहित सरकारमा सहभागी मन्त्रीसँगको बैठकमा सभापति देउवाले जनतासँग सरोकार भएका विषयमा सहज र प्रभावकारी ढङ्गले सेवा प्रवाह गर्न निर्देशन दिएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जानकारी दिए ।
सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास बसेको संसदीय कार्य समितिको बैठकले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारमा रहेका मन्त्रीहरूलाई काम प्रभावकारी बनाउन सात बुँदे निर्देशन दिएको हो । सातामा दुई निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी पाँच दिन सम्पूर्णरूपले मन्त्रालयको काममा केन्द्रित हुने निर्णय गर्दै सांसद्को चासो, सुझाव, अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रीहरूले समन्वय गर्ने निर्णय भएको छ ।
सभापति देउवाले पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागका सम्बन्धमा महिनामा एक पटक पार्टी केन्द्रीय पुग्न पनि निर्देशन दिएका छन् ।
यस्ता छन् निर्देशनका ७ बुँदा
१ ) सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने । महत्त्वपूर्ण विषयमा नियमित छलफल गर्ने ।
२ ) विभिन्न समितिमा विचाराधीन विधेयकलाई टुंगोमा पुर्याउन सक्रियतासहित कार्य गर्ने ।
३) आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउने ।
४ ) चालू आर्थिक वर्षको बजेटमा परेका, तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेन्डर हुन नसकेका, निर्माण सुरु भएका, तर अपेक्षित गतिमा काम नभइरहेका विकास योजना सम्पन्न गर्न गराउन आवश्यक पहलकदमी लिने ।
५ ) हप्तामा २ निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने बाँकी ५ दिन सम्पूर्ण रुपमा मन्त्रालयको काममा केन्द्रित हुने ।
६) सांसदहरूको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत् संसदीय दल कार्यसमिति र मन्त्रीहरूले समन्वय गर्ने ।
७ ) पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरूमार्फत् पार्टी केन्द्रीय कार्यालयमा आउने नागरिकका सुझाव र मागहरूबारे महिनामा एकपटक पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर गुनासो र सुझाव लिने ।