काठमाण्डौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुसँगको सामूहिक छलफल शुरु भएको छ । त्यसका लागि उनले बिहान ८ बजे बुढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएका छन् । बैठकमा संसदीय दल कार्यसमितिका सदस्यहरुलाई समेत बोलाइएको बुझिएको छ ।
सो बैठकमा मन्त्रीहरुले गरेका कामको ब्रिफिङ लिने र प्रभावकारी काम गर्न निर्देशन हुने देउवाको सचिवालयले जनाएको छ । पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको काम प्रभावकारी बनाउन र समन्वय गर्ने गरी गत भदौदेखि दुईरदुई महिनामा छलफल गर्ने निर्णय कांग्रेसले गरेको थियो । गत भदौमा पहिलो बैठक बसेको थियो भने दोस्रो बैठक आज बस्दैछ । कांग्रेसबाट ओली सरकारमा १० मन्त्री र २ राज्यमन्त्री सरकारमा छन् । काँग्रेसवाट सरकारको नेतृत्व प्रकाशमान सिंहले गरेका छन् ।
कांग्रेसबाट मन्त्री हुनेहरुमा उपप्रधानसहित सहरी विकास सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का र वन तथा वातावरण ऐनबहादुर शाही छन् ।
दुई राज्यमन्त्रीमा रुपा विक र पूर्णबहादुर तामाङ छन् । विकले वन तथा वातावरण र तामाङले ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । देउवाले मन्त्रीहरुसँग छलफल गर्न लागेको यो दोस्रो पटक हो ।