काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सो मुद्दाको सुनुवाइ भएको थियो । रविको पक्षमा पूर्व महान्यायाधीवक्ताद्धय रमण श्रेष्ठ र सुशील पन्त तथा अभिवक्ताहरु सुरज बस्नेत र सुरेन्द्र थापाले रविको पक्षबाट बहस गरेका थिए ।
जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसमा रविको पक्षबाट बहस सकिएपछि सरकारी वकिल खणिन्द्र कटुवालले जवाफी बहस र जाहेरीकर्ताको तर्फबाट दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गरेका थिए । रवि लामिछानेलाई न्यायाधीश माधवप्रसाद अधिकारीले पहिलेको कुरा नदोहोर्याउन आग्रह गर्दै आफ्नो कुरा राख्न पाँच मिनेटको समय दिएका थिए ।
जवाफी बहस सकिएसँगै आदेशको तयारी भइरहेको बताइएको छ । लामिछाने धरौटीमा छुट्ने कि पुर्पक्षका लागि थुनामा पठाउने भन्ने विषयमा आदेश आउने छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिबार साँझ ६५ लाख धरौंटी बुझाएर पोखराबाट छुटेका थिए ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेलाई प्रतिवादी बनाइएको थियो । उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।