काठमाडौं । नेकपा एमालेबाट निष्काशित भएर मातृभूमि जागरण अभियान चलाइरहेका पूर्व उपप्रधान एवं गृहमन्त्री डा, भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अर्को गम्भीर आरोप लगाएका छन् । उनले ओलीले भूमि, वन र निकुञ्जसम्बन्धी अध्यादेश ल्याएर वन र निकुञ्जको जग्गा पनि व्यक्तिलाई दिन सकिने प्रपञ्च गरिरहेको आरोप लगाएका छन् ।
सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशलाई राष्ट्रपति रामचन्द्र पौडेलले रोकिदिएको सन्दर्भमा रावलले यस्तो टिप्पणी गरेका हुन् । उनले पञ्चायतकालमा समेत प्राकृतिक सम्पदाको संरक्षण गर्न बनाइएका निकुञ्जको जग्गा व्यक्तिलाई दिन तम्सिनु भूमाफियाको स्वार्थपूर्ति गर्ने खेल हो कि ? भनेर प्रश्न गरेका छन्।
पञ्चायतकालमा समेत प्राकृतिक सम्पदाको संरक्षणका लागि बनाइएका निकुञ्जको जग्गा व्यक्तिलाई दिन तम्सिनु भूमाफियाको स्वार्थपूर्ति गर्ने खेल भएको हुनसक्ने आशंका व्यक्त गरे ।
गत पुस ११ गते एमालेबाट निकालिएपछि रावलले प्रधानमन्त्री ओलीबारे आक्रामक टिप्पणी गरिरहेका छन् । मातृभूमि जागरण अभियान नै ओलीको गृह जिल्ला झापा बाट चलाएर अघि बढेका नेता रावलले एमाले नेतृत्वको स्वच्छाचारी, राष्ट्रिय हित बिपरितका कार्य, मनपरी र भ्रष्टाचारपूर्ण क्रियाकलापविरुद्ध लड्दा पाच्य नभएको जिकिर गरे । उनले आफूलाई बदनाम गर्न राजावादी भएको प्रचार गरिएको उल्लेख गरेका थिए । यता ओलीनिकट र एमालेका नेताहरूले रावललाई राजावादी बन्न लागेको भन्दै कटाक्ष गरिरहेका छन् ।