काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दायर भएपछि काठमाण्डौं जिल्ला अदालतमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेको मुद्दामा काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी रहेको छ । थुनछेक बहसमा अहिलेसम्म ५ जना सरकारी वकिलहरूले मात्रै बहस सकेका छन् ।
न्यायाधीश माधवप्रसाद अधिकारीले बहसका लागि २ घण्टाको समय तोकेका थिए । तर, २ घण्टा २० मिनेट भईसकेपनि सम्म सरकारी पक्षकै बहस सकिएको छैन । अझै ६ जना सरकारी वकिल बहस गर्ने लाइनमा छन् । आधाघण्टाका लागि खाजा खाने समय भएकाले थुनछेक बहस रोकिएको हो । अब शुरु भएपछि फेरि सरकारी वकिलको बहस गर्नेछन् । उनिहरुको बहस सकिए पछि रवि लामिछानेको पक्षबाट वकिलहरुले बहस गर्नेछन् ।
अहिलेसम्म सरकारी वकिलहरू सन्तोष राज कटुवाल, राधिका सुवाल, बिना खड्का, चन्द्र सञ्जेल र खडिन्द्रराज कटुवालले बहस सकेका हुन् । उनीहरूले एक स्वरमा रविलाई थुनामै पठाउनुपर्ने माग गरे । यसअघि कास्की जिल्ला अदालतले गरेको आदेशलाई नजिर मान्न नहुने उनीहरूको जिरह रहेको अदालत स्रोतले जनाएको छ । सरकारी वकिलले एकै स्वरमा भनेका छन् ‘कास्की अदालतले गरेको आदेश बिर्सिदिनुस् श्रीमान्, रवि लामिछानेलाई थुनामै पठाउनुपर्छ । किनभने उलिाई धरौटीमा छोड्दा प्रमाणहरु नष्ट हुने भएकाले पनि थुनामै पठाउनु पर्ने जिकिर गरेका छन् ।
सरकारी वकिलहरूलेसहकारी पीडितहरू अझै पीडित भइरहेको अवस्थामा उनीहरूको न्यायका लागि पनि प्रतिवादीलाई थुनामै पठाउनुपर्ने तर्क गरेका छन् ।रवि एक्लैले ८ सयभन्दा बढी चेक काटेको, सहकारीको पैसाले गाडी किनेको तथा अटो कम्पनीमा किस्ता तिरेको दाबी सरकारी वकिलहरूले गरे ।
रविको तर्फबाट दुईजनाले मात्रै बहस गर्ने तयारी गरिएको बुझिएको छ । पूर्वमहान्यायाधीवक्ताद्वय सुशील पन्त र रमण श्रेष्ठले रविको पक्षबाट बहस गर्न लागेका हुन् । दुवै पक्षको बहसपश्चात् न्यायाधीशले रविलाई थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने निर्णय लिनेछन् । थुनछेक बहस लम्बिएको खण्डमा भने रबि फेरि न्यायिक हिरासतमै बस्ने छन् ।