काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापती रवि लामिछाने फेरी प्रहरी हिरासतमा पुगेका छन् । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई प्रहरीको जिम्मा लगाउन काठमाण्डौं जिल्ला अदालतले आदेश दिएको हो ।
आइतबार काठमाडौं जिल्ला अदालतमा बयान सकिएर थुनछेक बहस शुरू नभएपछि लामिछानेलाई न्यायिक हिरासतमा पठाउने आदेश आएको हो । रविको बयान समयमै सकिए पनि सरकारी वकिलले बयान अध्ययनका लागि भन्दै समय मागेपछि आइतबार थुनछेक बहस शुरू भएन । उनको जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान सकिएको थियो । तर अध्ययन गर्नुपर्ने भन्दै सरकारी वकिलहहरुले नमाने पछि भने उनीबारेको मुद्दामा थुनछेक बहस सुरू भएन ।
रवि अदालत खुल्नुअघि बिहानै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका थिए । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार ६५ लाख धरौटी बुझाएर छुटेका थिए । त्यहाँबाट छुटे पनि उनीविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा चलेको थियो । त्यसपछि उनी शुक्रबार नै स्वयम् हाजिर हुने भनिए पनि समय अभावका कारण आइतबार उपस्थित भएका थिए । सोमबार काठमाण्डौं जिल्ला अदालतको इजलासमा उनको थुनछेक बहस हुनेछ ।