काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९ रास्वपा० का सभापति रवि लामिछाने आज (आइतबार ) काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत रकम अपचलन मुद्दामा धरौटी बुझाएर लामिछाने बिहीबार रिहा भएका थिए । शुक्तवार काठमाण्डौ जिल्ला अदालतमा स्वयं उपस्थित हुने भने पनि कास्कीमा बिबिध कामहरु बाँकी रहेकाले रबी आज अदालतमा उपस्थित भएका छन् ।
कास्की जिल्ला अदालतको आदेशबमोजिम बिहीबार धरौटीमा छुटेका लामिछाने काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आफैं अदालतमा उपस्थित भएका हुन् । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछाने अदालत खुलेपछि आज त्यहाँ उपस्थित हुने रास्वपाका सहकोषाध्यक्ष दिपक बोहराले ट्रान्सपरेन्ट खवर डटकमलाई जानकारी गराए ।
यसअघि लामिछाने हिरासतबाट छुटेको भोलिपल्ट शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन भनिएको थियो । तर पोखराबाट काठमाडौं आउन ढिलाइ गरेकाले सो दिन उनी अदालतमा उपस्थित हुन सकेनन् । शनिबार बिदा परेकाले अदालत बन्द थियो । यसैले उनी आज अदालत उपस्थित भएका छन् ।
सहकारी ठगीको अनुसन्धानका लागि गत कात्तिक २ गते पक्राउ परेका लामिछाने बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।उक्त मुद्दामा लामिछानेसँगै ६ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ र आरती गुरुङले धरौटी रकम बुझाएर रिहा भएका थिए ।
न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, मीना गुरुङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङलाई पाँच लाख र कृष्णबहादुर गुरुङलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
अदालतमा १० दिनसम्म भएको थुनचेक बहसपछि प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश आएको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो ।लामिछाने काठमाण्डौ जिल्ला अदालतमा स्वयं उपस्थित हुने भनेपछि सबैको ध्यान उनितिर केन्द्रित भएको छ ।