काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछाने रिहा भएका छन् । कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका लामिछानेलाई अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले उनीसहित सात जना प्रतिवादीसँग धरौटी माग गरेको थियो ।
लामिछाने ६५ लाखको बैंक जमानत ( बैंक ग्यारेन्टी) बुझाएर रिहा भएका हुन् । लामिछानेविरुद्ध काठमाडौं, पर्सा, रुपन्देही र चितवनमा पनि मुद्दा छ । कास्कीबाट रिहा हुनेवित्तिकै उनलाई पक्राउ पर्ने तयारी थियो । तर, आफैं काठमाडौं जिल्ला अदालतमा हाजिर हुने शर्तमा लामिछानेलाई छाडिएको हो ।
रास्वपाका नेता मिलन लिम्बुका अनुसार सभापति लामिछाने आज पोखरा बसेर भोलि विहान काठमाडौं आउनेछन् । ‘उहाँ आज पोखरा नै बस्नुहुन्छ । भोलि विहान काठमाडौं आउनु हुन्छ ।
अदालतबाट रिहा भएसँगै लामिछानेलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि फिस्टेल अस्पताल लगेको छ । स्वास्थ्य परीक्षणपछि लामिछानेलाई परिवारका सदस्यको जिम्मा लगाइने प्रहरी स्रोतले बताएको छ । सूर्यदर्शन सहकारी प्रकरणमा थुनामा रहेका सात प्रतिवादीमध्ये ६ जना आजै धरौटी बुझाएर रिहा भएका छन् । रविसहित छविलाल जोशी, रामबहादुर खनाल, लिला पछाईं, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङले बिहीबार नै धरौटी बुझाएर रिहा भएका हुन् ।