काठमाडौं । अमेरिकामा आएको भीषण हिमआँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने केही राज्यमा सङ्कटकाल घोषणा गरिएको छ । केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यू जर्सी र मिसौरी गरी राज्यले आपत्काल घोषणा गरेका छन् । हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द भएका छन् । प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ । हजारौं उडानहरू रद्द गर्नु परेको छ । यस्तै विद्यालयहरू बन्द गरिएका छन् । भारी हिमपात र न्यूनतम तापक्रमले पछिल्लो दशकको रेकर्ड तोडेको छ ।
कन्सास र मिसौरी अहिले सबैभन्दा बढी प्रभावित बनेको बीबीसीको समाचारमा उल्लेख छ । आइतबार दिउँसोदेखि केही क्षेत्रमा १० इन्चसम्म हिमपात भएको छ । कान्सासका अधिकारी ब्रायन प्लाटले भने, ‘पछिल्लो ३२ वर्षमा मैले १० इन्चभन्दा बढी हिमपात देखेको थिएन ।’ मौसम पूर्वानुमान महाशाखाका अनुसार अमेरिकाको मध्यदेखि पूर्वी तटसम्म करिब ३० राज्यमा अवस्था गम्भीर हुने अनुमान गरिएको छ ।
मौसमविद्हरूका अनुसार खराब मौसमको कारण ध्रुवीय भोर्टेक्स ( आर्कटिक वरपर चिसो हावाको प्रवाह) हो। राजधानी वाशिङ्गटन डीसी र फिलाडेल्फियालगायत धेरै ठूला सहरहरूमा भारी हिमपात हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि नै खराब मौसमबाट राहत हुने जनाएको छ ।एनडब्लुएसले आफ्नो पछिल्लो प्रतिवेदनमा भनेको छ, ‘भारी हिमपातले अत्यधिक ठण्डी निम्त्याउँदा मध्य–एटलान्टिक क्षेत्रमा सोमबारसम्म प्रभाव पार्नेछ ।’
उत्तरपूर्वी कन्सासदेखि उत्तर–मध्य मिसौरीसम्मका क्षेत्रमा दशकयताकै सबैभन्दा ठूलो हिमपात हुने चेतावनी मौसम पूर्वानुमान एनडब्ल्यूएसले दिएको छ । मानव सिर्जित जलवायु परिवर्तनका कारण मौसम सामान्यबाट चरम र गम्भीर बन्दै गएको वैज्ञानिकहरूले बताएका छन् । सन् २०२५ को पहिलो ठूलो आँधीले नागरिकको यात्रा नराम्ररी प्रभावित भइरहेको छ भने कन्सास सिटी अन्तर्राष्ट्रिय विमानस्थलले शनिबार आफ्नो उडान बन्द गर्ने घोषणा गरेको छ ।
कन्सास सिटीका मेयर क्विन्टन लुकासले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एयरफिल्ड रनवे र ट्याक्सीवेको सरसफाइपछि उडान पुनः सुरु भएको छ ।’ राससरएएफपी