कैलाली । कैलाली जिल्ल्लाको भजनी नगरपालिका–५, कौवाखेडा सीमा इलाकाबाट सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा ल्याइएको एक करोड रुपैयाँ मूल्यबराबरको सुनचाँदी र नगदसहित तीनजनालाई पक्राउ गरेको छ। भारतसँग सीमा जोडिएको भजनी नगरपालिका– ५, कौवाखेडाबाट शनिबार बेलुकी सुनचाँदीसहित सुर्खेत घर भएका तीनजनालाई पक्राउ गरिएको सशस्त्रका डीएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
भजनीस्थित पगियापसारबाट खटिएको बिओपी टोलीले सुर्खेतको चौकुनी गाउँपालिका– १० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका– १ का ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका– ११ का ३२ वर्षीय महेश सुनारलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट ६२० ग्राम सुन, आठ किलो ९१४ ग्राम चाँदी बरामद गरिएको सशस्त्र प्रहरी ३४ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले जानकारी दिए। त्यस्तै, ६ लाख ११ हजार ६२५ भारतीय रुपैयाँसमेत प्रहरीले बरामद गरेको छ। प्रहरीका अनुसार बजार भाउअनुसार बरामद सुनको मूल्य ८० लाख ७९ हजार ५३१ र चाँदीको मूल्य १५ लाख २८ हजार ४६० रुपैयाँ रहेको छ।
पक्राउ परेका तीनैजनालाई सुनचाँदीसहित भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक पाण्डेयले बताए। उनका अनुसार प्रारम्भिक बयानमा तीनैजनाले गरगहनाबारे आफूलाई जानकारी नभएको र कसैले झोलामा राखिदिएको हुन सक्ने भनेका छन्।