काठमाडौँ । सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएपछि सर्वसाधारणले सस्तोमा पाउने भन्ठानेका थिए । भन्सार दर र अन्तर्राष्ट्रिय बजारमा भाउ घट्दा स्थानीय बजारमा तोलामै १५ हजार ९ सय रुपैयाँले मूल्य सस्तियो पनि । तर गहना व्यवसायीले सर्वसाधारणलाई अपारदर्शी एवं मनलागी रूपमा ज्याला–जर्तीको मूल्य बढाएर भाउमा मनोमानी गरिरहेका छन् । यही कारण पनि होला, भन्सार दर घटेअनुसार सर्वसाधारणले सस्तोमा गहना किन्न पाएका छैनन् । मूल्य घटेपछि उनीहरूले जर्ती बढाएर सर्वसाधारणसँग महँगो मूल्य असुलिरहेका छन् ।
‘औसतमा व्यवसायीले ज्याला–जर्तीका नाममा १० प्रतिशतसम्म थप शुल्क लिने गरेका थिए । यहाँ मूल्य बढ्न थालेपछि न्युरोड र विशालबजार क्षेत्रका गहना व्यवसायीले ज्याला–जर्ती घटाएर ५,९९ देखि ७ प्रतिशतसम्म शुल्क लिन थाले । अन्य क्षेत्रकाले त्यही औसतमा १०र१२ प्रतिशतसम्म लिए,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘सरकारले ५० प्रतिशत भन्सार घटाएपछि मूल्य घट्यो । महँगोमा खरिद भएको गहना सस्तोमा बिक्री गर्न चाहेनन्, अहिले फेरि ज्याला–जर्तीको शुल्क बढाए, यो भनेको ठगी हो ।’
असारयता विशालबजार क्षेत्रका सबै गहना व्यवसायीले ज्याला–जर्ती घटाएका थिए । उनीहरूले होडिङबोर्ड नै राखेर ज्याला–जर्ती घटाइएको विज्ञापन गरेका थिए । अहिले भने होडिङ बोर्ड हटाएका छन् । मूल्य धमाधम बढाएर बेच्न थालेका छन् । आखिर गहना व्यवसायीले किन घटाए ज्याला–जर्ती र फेरि किन बढाए रु जानकार भन्छन्, ‘नेपाल–भारतबीच भन्सार दर र सीमा खुला भएका कारण यस्तो भएको हो ।’
आर्थिक वर्ष ०८१र८२ को बजेटमा नेपालमा भन्सार दर ५ प्रतिशतबाट बढेर २० प्रतिशत पुग्यो । तर भारत सरकारले गत साउनमा भन्सार दर १५ प्रतिशतबाट ६ प्रतिशतमा झार्यो । भारतमा साढे ३ प्रतिशत जीएसटी लगाइन्छ । यी सबै जोड्दा नेपाल–भारतबीचको भन्सार दर ५० प्रतिशतले फरक पर्छ । यही कारण भारतको तुलनामा नेपालमा सुन महँगो भयो । र, खुला सीमाका कारण अवैध कारोबारले प्रोत्साहन पायो ।
‘भारतको तुलनामा नेपालमा तोलाकै १८ देखि २० हजार मूल्य महँगो पर्यो । त्यसैको मौका छोपेर सीमा क्षेत्रमा तस्कर सलबलाएका हुन् । नेपालमा चल्ने गहना भारतीय डिजाइनकै हुन् । सस्तोमा ल्याइएका तयारी गहना यहाँ बिक्री हुन थाल्यो,’ न्यरोडकै एक गहना व्यवसायीले भने, ‘अवैध रूपमा ल्याइएका गहनामा ज्याला–जर्तीको शुल्क घटाएर बिक्री गरियो । यस्तो अवैध कारोबार ४ महिनासम्म चल्यो । तर सरकारले भन्सार घटाएपछि भारत र नेपालको मूल्य उस्तै–उस्तै भयो । सस्तोमा ल्याइएका गहना महँगोमा बेच्न नसकिने भएपछि विज्ञापन राखिएका होडिङ बोर्ड हटाएर ज्याला–जर्ती बढाउँदै सुन बेच्न थालियो ।’
यसको एउटा उदाहरण रिद्धिसिद्धि ज्वेलर्स रहेको ती व्यवसायी बताउँछन् । रिद्धिसिद्धिले उपभोक्ताको हितका लागि भन्दै ज्याला–जर्तीको शुल्क ५,९९ प्रतिशत मात्रै लाग्ने विज्ञापन गरेको थियो । सरकारले भन्सार दर घटाएपछि उसले विज्ञापन परिवर्तन गरेको छ । पछिल्लो समय उचित र पारदर्शी ज्याला अर्थात् सर्वसाधारणको सहमतिमा ज्याला लिने दाबी गरेको छ । तर रिद्धिसिद्धिले उचित ज्याला–जर्तीका नाममा गणेशको लकेटमा ३३।६५ र तिलहरीमा ५६।२५ प्रतिशतसम्म ज्याला लिएको पाइएको छ ।
यही मंसिर १३ मा एक उपभोक्तालाई बिक्री गरेको बिलमा ज्यालाका नाममा अत्यधिक पैसा असुलेको छ । ‘कालोबजारी ऐन अनुसार २० प्रतिशतभन्दा बढी मुनाफा लिन पाइन्न । तर यहाँ ५६ प्रतिशतभन्दा बढी मुनाफा लिइएको छ,’ एक गहना व्यवसायीले भने, ‘व्यवसायीले उपभोक्तालाई गुमराहमा राखेका छन् । ज्याला–जर्तीका नाममा जति पनि शुल्क लिइएको छ । तर यस विषयमा सरकारी निकाय मौन छ ।’ रिद्धिसिद्धिका सञ्चालक नरेन्द्रकुमार गुप्ताले भने सर्वसाधारणलाई पारदर्शी रूपमा सुन बिक्री गरेको दाबी गरे । ज्याला–जर्तीका नाममा अतिरिक्त शुल्क लिन नपाइए पनि व्यवसायीले २ हजारदेखि ५ हजारसम्म लिन्छन् ।
‘मुख्य कुरा जर्तीको अतिरिक्त शुल्क लिन पाइँदैन, यो गैरकानुनी हो । ज्याला भने लिन पाइन्छ,’ गुप्ताले भने, ‘तर यहाँ गोलमटोल बनाइएको छ । उपभोक्तालाई भ्रममा पारिएको छ । जर्तीका नाममा अतिरिक्त शुल्क लिने व्यवस्था राज्यले तत्काल खारेज गर्नुपर्छ ।’ एकदेखि दुई ग्रामसम्मको सुनको ज्याला ५ हजार निश्चितप्रायः रहेको गुप्ताको भनाइ छ । गहना बनाउँदा एक प्रतिशतसम्म नोक्सान हुने गुप्ता बताउँछन् । ‘जर्ती भनेको गहना बनाउँदा उडेर जाने सुनलाई भनिन्छ, उत्पादन गर्दा नोक्सानी हुन्छ । त्यो १ प्रतिशतभन्दा बढी हुँदैन,’ उनले भने, ‘तर यहाँ त्यसकै नाममा ठगी भएको छ ।’ उनले पनि भन्सार दरकै कारण तस्करी मौलाएको दाबी गरे । खुला सीमाका कारण तस्करी मौलाएको र जर्तीका नाममा मनोमानी भइराखेको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताए ।
‘भन्सार दर र खुला सीमाका कारण धेरै तस्करी भयो । भारतबाट सस्तो सुन आयो । चाँदी पनि सस्तोमा आयो । त्यही सुनले बजार चलेको थियो, केहीले ज्याला–जर्ती पनि घटाएर बेचे,’ शाक्यले भने, ‘सस्तोमा आएको सुनमा ज्याला–जर्तीको शुल्क नलिए पनि पसल चलाउन सकिन्थ्यो । त्यही कारण मूल्य घटाएर पनि बेचे । भन्सार समायोजनपछि मूल्य उता र यता उस्तै–उस्तै भयो । त्यही भएर फेरि ज्याला–जर्तीको शुल्क बढाएका छन् ।’
महासंघका अध्यक्ष अर्जुन रसाइलीले पनि भारतबाट अवैध रूपमा भित्रिएको सुनका कारण ज्याला–जर्तीको शुल्क घटेको दाबी गरे । तर अहिले उस्तै मूल्य हुँदा न्युरोड र विशालबजार क्षेत्रमा ज्याला–जर्तीको शुल्क बढेको उनको भनाइ छ । ‘केही व्यवसायीले औसतमा ७ प्रतिशतसम्म ज्याला–जर्तीको शुल्क बनाएका थिए, अहिले बढाएर १० देखि १२ प्रतिशत पुर्याएका छन्,’ उनले भने । सरकारले भन्सार दर ५० प्रतिशत घटाएर १० प्रतिशत कायम गरेपछि थोरै मुनाफाका लागि व्यवसायीले तस्करी गर्दैनन् । अहिले तस्करी हुने सम्भावना कम भएको महासंघको दाबी छ । व्यवसायीले आफूलाई अनुकूल मात्रै सुन खरिद–बिक्री गर्ने गरेको बताइन्छ ।
यति बेला सरकारले सुनको भन्सार घटाएपछि गहना किन्नेको चाप बढेको छ । तर उनीहरूले बजारमा सुन नभएको भन्दै त्यति बिक्री गरिरहेका छैनन् । ‘बढेको बेला जति पनि किन्न चाहने व्यवसायीले सुनको भाउ घट्दा बेच्नु पनि पर्छ । आफ्नो अनुकूलतामा कारोबार गर्नु ठगीसरह हो,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘तर सरकारले त्यता ध्यान नै दिएको छैन । बजार मनोमानी चल्दा नियामक निकायले आवश्यक कदम चाल्नुपर्छ ।’ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले भने कारोबार निर्देशिका नहुँदा ज्याला–जर्तीको शुल्कका विषयमा अनुगमन गर्न नपाएको प्रस्ट्याए ।