काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, युरोपेली संघसहित १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।प्रस्तावित योजनाअनुसार चीनमाथि ४० प्रतिशतसम्म, भियतनाममाथि ३५ प्रतिशतसम्म र अन्य देशमाथि २० देखि २५ प्रतिशतसम्म शुल्क लगाइनेछ। नयाँ शुल्क आगामी वर्षदेखि लागू गर्ने तयारी गरिएको छ।
अमेरिकी सर्वोच्च अदालतले यसअघि घोषणा गरिएको ‘लिबरेसन डे’ भन्सार शुल्कलाई गैरकानुनी ठहर गरेपछि ह्वाइट हाउसले गत मार्चमा विभिन्न देशका व्यापारिक अभ्यासबारे अनुसन्धान सुरु गरेको थियो। सोही अनुसन्धानका आधारमा नयाँ शुल्क प्रस्ताव गरिएको हो।नयाँ शुल्कको सूचीमा चीन, युरोपेली संघ, भारत, जापान, दक्षिण कोरिया, बंगलादेश, भियतनाम, थाइल्यान्ड, मलेसियालगायत १४ देश तथा क्षेत्र रहेका छन्।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीयरले नयाँ शुल्कले अमेरिकी श्रमिक र उद्योगलाई समान प्रतिस्पर्धाको वातावरण उपलब्ध गराउने दाबी गरेका छन्।तर अर्थशास्त्रीहरूले भन्सार शुल्कका कारण आयात लागत बढ्ने, वस्तुको मूल्य महँगिने र मुद्रास्फीतिमा दबाब पर्ने चेतावनी दिएका छन्। यसले विश्व व्यापारसमेत प्रभावित पार्न सक्ने उनीहरूको भनाइ छ।ट्रम्पले अमेरिकी उत्पादन र रोजगारी वृद्धि गर्नुका साथै व्यापार घाटा घटाउने उद्देश्यले भन्सार शुल्क नीतिलाई निरन्तरता दिँदै आएका छन्।
