ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति गगनकुमार थापाको सभापतित्वमा ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा हिजो बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गरेका थिए ।
महामन्त्री पौडेलले पेस गरेको कार्यसूचीमा सङ्गठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन र स्थानीय निर्वाचनलगायत विषयमा छलफल हुने छ । बैठकको कार्यसूचीमा सङ्गठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापनलगायत नागरिक सरोकारका विषय समेटिएका छन् ।
त्यसैगरी, सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय निर्वाचनका विषयमा प्रारम्भिक छलफल गर्ने कार्यसूची पनि तय गरिएको छ ।बैठकमा विविध विषयमा समेत छलफल हुने जनाइएको छ । हिजो दिउँसो बसेको बैठकको प्रारम्भमा सभापति थापाले समसामयिक राजनीतिक विषयवस्तुका सम्बन्धमा विशेष सम्बोधन गरेका थिए ।
