धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले पार्टी र सरकारबिच कुनै पनि विवाद वा समस्या नरहेको स्पष्ट पारेका छन्। शनिबार जनकपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारलाई दिइएका सुझाव वा आलोचनालाई लिएर बाहिर चलेका हल्लाहरूमा विश्वास नगर्न आग्रह गरे।
सरकारले आफ्ना प्रतिबद्धता तथा वाचाहरू पूरा गर्न दृढतापूर्वक काम गरिरहेको उल्लेख गर्दै लामिछानेले आफ्नै पार्टी नेतृत्वको सरकारलाई सल्लाह, सुझाव र रचनात्मक आलोचना गर्नु पार्टी फुटको सङ्केत नभएको दाबी गरे। रास्वपा लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास गर्ने दल भएकाले यसलाई बलियो आन्तरिक लोकतन्त्रको उदाहरणका रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो।
पार्टीभित्र पक्ष र विपक्षमा हुने बहस तथा छलफलहरूलाई नेतृत्वले सदैव सकारात्मक रूपमा लिने गरेको उनले बताए। मधेसको जनमत र विकासका सन्दर्भमा बोल्दै सभापति लामिछानेले भने, ‘यस पटक जनताले रास्वपालाई ठुलो भरोसाका साथ अवसर दिएका छन्, अहिले पाएको जनमतबाट पनि मधेसले परिवर्तनको आशा र अनुभूति गर्न सकेन भने म अर्को पटक यहाँ भोट माग्न आउने छैन।’
जनतालाई झुक्क्याएर भोट माग्ने चरित्र स्थापित हुने हो भने त्यस्तो राजनीति आफूलाई आवश्यक नरहेको लामिछानेले स्पष्ट पारे। मधेसी जनताको जीवनमा सार्थक परिवर्तन ल्याउने आशा, भरोसा र विश्वासका साथ प्राप्त भएको यस अवसरलाई धोका नदिन उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे।
