काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र ( बालेन) शाहले देश जोगाउने र पार्टी जोगाउने विषय फरक रहेको बताएका छन् । बिहीबार राति फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् । ‘तपाईंहरूका कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्,’ प्रधानमन्त्रीले लेखेका छन्, ‘हाम्रा नेता लड्छन्, मानवताले आस गर्छन् . ’उनले अगाडि लेखेका छन्, ‘फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले प्रहरी महानिरीक्षक ( आईजीपी ) हटाउने सरकारको निर्णयबारे प्रश्न उठाएपछि प्रधानमन्त्री शाहले दिएको यो अभिव्यक्तिलाई धेरैले लामिछाने लक्षित टिप्पणीका रूपमा व्याख्या गरेका छन् ।
सभापति लामिछानेले बिहीबार आईजीपी हटाउने सरकारको निर्णयको औचित्य सरकारले पुष्टि गर्नुपर्ने प्रतिक्रिया दिएका थिए । रास्वपाका अन्य नेताहरूले पनि उक्त निर्णयबारे पार्टीसँग सरकारले छलफल नगरेको भन्दै प्रश्न उठाएका थिए ।
