काठमाडौँ। नेपाली कांग्रेसले पार्टी सभापति गगन थापालाई पक्राउ गर्न लागिएको भन्ने चर्चा पूर्णतः निराधार भएको ठहर गर्दै यस किसिमका भ्रम सत्तापक्षबाटै नियोजित रूपमा फैलाइएको आरोप लगाएको छ। पार्टी पदाधिकारीहरूको अनौपचारिक बैठकपछि महामन्त्री प्रदीप पौडेलले दिएको जानकारी अनुसार, सरकारले आफ्ना कमजोरी ढाकछोप गर्न र ध्यान भड्काउन यस्तो दुष्प्रचार गरेको निष्कर्ष कांग्रेसले निकालेको हो।
बैठकबारे जानकारी दिँदै पौडेलले सभापतिलाई पक्राउ गर्ने कुनै कानुनी आधार र प्रमाण नरहेको प्रस्ट पारे। “पार्टी सभापतिलाई पक्राउ गर्ने निराधार हल्ला सत्तापक्षबाटै चलाइएको छ,” उनले रातोपाटीसँग भने, “यदि पक्राउ गर्ने नै हो भने त्यसको तथ्य र आधार पुष्टि गर्नुपर्ला। बिनाआधार चलाइएको यस्तो निराधार हल्लाको पार्टीले सशक्त रूपमा चिरफार गर्छ।”
बैठकमा पछिल्लो समय सरकारले चालेका विवादास्पद तथा शक्ति दुरुपयोगका कदमहरूबारे गम्भीर समीक्षा भएको छ। विशेषगरीस्मिडिया हाउसभित्रै प्रवेश गरेर पत्रकारलाई पक्राउ गरिएको प्रकरण,अदालतका बिचौलिया भनिएका इनाम सापकोटा पक्राउ र त्यससँग जोडिएका रहस्यहरू,दानबहादुर कार्कीलाई नेपाल प्रहरीका महानिरीक्षक ( आईजीपी ) बाट हठात् हटाउने र कारबाही गर्ने प्रकरण लगायतका विषयमा बैठकमा घनिभूत छलफल भएको छ। यी घटनाक्रमले विधिको शासन, प्रेस स्वतन्त्रता र व्यावसायिक सुरक्षा निकायमाथि सरकारले हस्तक्षेप बढाएको कांग्रेसको ठम्याइ छ ।
सरकारका यस्ता स्वेच्छाचारी र विवादास्पद कदमविरुद्ध संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा कांग्रेसले तयारी गरेको छ। यी विषयहरू संसद्मा कुन प्रक्रियाबाट उठाउने र कसरी प्रतिवाद गर्ने भन्नेबारे पार्टीका संसदीय दलका नेता तथा विभिन्न विषयगत संसदीय समितिमा रहेका सांसदहरूसँग पदाधिकारीहरूले आवश्यक परामर्श गरेका छन्। संसद्मा जनसरोकारका विषय, विधिको शासनको रक्षा र सरकारको गैरकानुनी कार्यशैलीविरुद्ध एकताबद्ध र प्रभावकारी ढङ्गले आवाज उठाउने रणनीति कांग्रेसले तय गरेको महामन्त्री पौडेलले जानकारी दिए।
