रौतहट । मोटरसाइकलको ट्याङ्कीमुनि गोप्य खण्ड ९फल्स बटम० बनाएर लुकाइएको ३० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले उक्त रकम पुर्याउनुपर्ने भनिएको गौरस्थित एक व्यापारिक प्रतिष्ठानमा छापा मार्दा थप १४ लाखभन्दा बढी रुपैयाँ बरामद गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका भारतीय नागरिक सनिकुमार जैसवाललाई प्रहरीले ईशनाथ नगरपालिका–४ महुलियास्थित काली मन्दिर नजिकबाट नगदसहित नियन्त्रणमा लिएको हो।
प्रहरीचौकी मठिया महुलियाबाट खटिएको टोलीले बुधबार दिउँसो करिब साढे ३ बजे नियमित जाँचका क्रममा मध्यप्रदेश नम्बरको मोटरसाइकल रोकेर तलासी लिँदा झोला र मोटरसाइकलको ट्याङ्कीमुनि फल्स बटम बनाएर लुकाइएको ३० लाख रुपैयाँ फेला पारेको थियो। भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्ला, फुलबरिया–१३ निवासी करिब ३० वर्षीय जैसवालको साथबाट प्रहरीले एक थान स्मार्टफोनसमेत बरामद गरेको छ।
प्रहरीले नियन्त्रणमा लिएर प्रारम्भिक सोधपुछ गर्दा उक्त रकम गौर नगरपालिका–१ स्थित न्यू तराई ट्रेडर्सका सञ्चालक शेख कमरुललाई पुर्याउन ल्याएको खुलेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक जीवनकुमार मैनालीको नेतृत्वमा खटिएको टोलीले न्यू तराई ट्रेडर्समा छापा मारेर खानतलासी गरेको थियो। खानतलासीका क्रममा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएपछि प्रहरीले पसल सञ्चालक कमरुललाई समेत नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार मोटरसाइकलमा लुकाएर ल्याइएको ३० लाख र पसलबाट बरामद भएको १४ लाख ६४ हजार ६०५ रुपैयाँ गरी कुल ४४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएको छ। ठूलो रकम लुकाएर सीमापार गरिनु र गन्तव्यमा पुग्नुअघि नै प्रहरीको नियन्त्रणमा पर्नुले घटनालाई थप रहस्यमय बनाएको छ। बरामद रकमको स्रोत, कारोबारको उद्देश्य र यसमा संलग्न अन्य व्यक्तिबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
