काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले देशको स्वाभिमानमा आँच पुर्याउने काम हुँदा आफूहरू टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन्। दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा उनले राष्ट्रिय हितमा आघात पुग्ने र देशको स्वाभिमानमा आँच आउने गतिविधिलाई स्वीकार गर्न नसकिने बताएका हुन्। उनले राष्ट्रियताबारे जनचेतना र जागरण बढाउन पार्टीले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेको बताए।
राष्ट्रियता, संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनजीविकाका सवाल आफूहरुको प्राथमिकतामा रहेको उनको भनाइ छ। उनले जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न संविधानको संरक्षण आवश्यक रहेको बताए। लोकतान्त्रिक गणतन्त्र, समावेशिता र विधिको शासनलाई संस्थागत गरेको संविधानको रक्षा गर्ने जिम्मेवारी राजनीतिक दलहरूको काँधमा रहेको उनको भनाइ छ। संविधानको रक्षा र विधिको शासनप्रतिको प्रतिबद्धतालाई अभियानका क्रममा प्रमुखताका साथ उठाइने बताए।
नेपालले भने, ‘हाम्रो राष्ट्रिय हितमाथि आघात पुर्याउने र देशको स्वाभिमानमा आँच पुर्याउने कुनै काम हुन्छ भने त्यसलाई हामी टुलुटुलु हेरेर बस्न सक्दैनौँ।’ उनले इतिहासमा खेलेको गौरवशाली भूमिकालाई बिर्सेर नयाँ इतिहास निर्माण गर्न नसकिने बताए। पार्टीभित्र त्रुटि र कमजोरी भए त्यसलाई सुधार गर्न तयार रहेको बताउँदै उनले जनतासँग जोडिने, राष्ट्रियता र संविधानको रक्षा गर्ने तथा जनताका समस्यालाई सम्बोधन गर्ने बताए।
