काठमाडौं । अर्को सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षा हुने अनुमान गरिएको छ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले वर्षाको सम्भावना देखिएको मौसमविद्हरुले बताएका छन्। मौसमविद् डा. विनोद पोखरेलले पनि विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि करिब एक साताभन्दा लामो समयसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको बताएका छन। उनका अनुसार विभिन्न मोडेलले वर्षाको स्थान र मात्राबारे फरक–फरक अनुमान छ।
अहिले नै कुन ठाउँमा कति वर्षा हुन्छ भन्ने यकिन गर्न कठिन भए पनि सतर्कता अपनाउन आग्रह गरिएको छ। उनले वर्षाको सम्भावनालाई मध्यनजर गर्दै धान काटिहाल्न सुझाएका छन्। अर्को साताको मंगलबारदेखि धान काट्ने योजना बनाएका किसानले सम्भव भए त्यसअघि नै धान काटेर सुरक्षित रूपमा भित्राउन वा वर्षा रोकिएपछि मात्र काट्ने गरी तयारी गर्नुपर्ने उनको भनाइ छ।
हिमाली क्षेत्रमा मौसम प्रतिकूल हुँदा जोखिम बढ्न सक्ने भएकाले यात्रा तथा पदयात्रामा निस्कनेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले वर्षा गराउन सक्ने एउटा प्रणाली विकसित भइरहे पनि नेपाल आइपुग्ने वा नपुग्ने र कति मात्रामा आइपुग्ने भन्नेबारे आफूहरु अध्ययनमै रहेको बताएकी छन्।
